‘इच्छुक’मा समर्पित नयाँ गीत सार्वजनिक

‘इच्छुक’मा समर्पित नयाँ गीत सार्वजनिक

२०८२ असार २५ , बुधवार

काठमाडौँ ः प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’को छायाङ्कन भएको छ । गीतमा वरिष्ठ पत्रकार महेश्वर दाहालले शब्द, केशर कालिकोटेले सङ्गीत र रमण थामीले स्वर दिनुभएको छ ।

सामाजिक न्याय, क्रान्तिकारी विचार र मुक्तिको सपना बोकेका इच्छुकको योगदानलाई स्मरण गर्दै यो गीत तयार पारिएको पत्रकार एवं गीतकार दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “यो गीत इच्छुकजस्ता अग्रगामी युगदृष्टा पत्रकारप्रतिको श्रद्धा हो । इच्छुकको प्रेरणालाई गीतमार्फत जीवित राख्ने प्रयास गरेका हौँ ।”

सङ्गीतकार केशर कालिकोटेले इच्छुकको जीवनबाट प्रभावित भएर सशक्त धुन तयार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो गीत कुनै साधारण श्रद्धाञ्जली होइन, यो एउटा क्रान्तिकारी चेतनाको प्रतिध्वनि हो ।”

गायक थामीले इच्छुकको योगदानको स्मरण गर्नु भावनात्मकमात्र होइन, वैचारिक उत्तराधिकारको सम्मान भएको बताउनुभयो ।

इच्छुकलाई २०५९ साल जेठ १३ गते पक्राउ गरी यातना दिएर हत्या गरिएको थियो । उहाँको हत्यापछिको समाचारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यममा ठूलो चर्चा पाएको थियो ।

तत्कालीन जनयुद्धकालका साहित्य सङ्गीतका अगुवा तथा नेता मणि थापाले क्रान्तिकारी कवि, पत्रकारिताका प्रतीकका रूपमा रहेका इच्छुकको नाममा सिर्जित यो गीत नयाँ पुस्तालाई विचार र बलिदानको मूल्य सम्झाउने सृजना भएको बताउनुभयो । साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले यसले गीतसङ्गीतले इतिहासको मूल्याङ्कनमा नयाँ मानक स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ असार २५ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य