लुम्बिनीमा बौद्ध भिक्षुको तीनमहिने धार्मिक साधना सुरु

लुम्बिनीमा बौद्ध भिक्षुको तीनमहिने धार्मिक साधना सुरु

२०८२ असार ३२ , बुधवार

लुम्बिनी (मर्चवार) ः आजदेखि बौद्ध भिक्षुहरुको वार्षिक वर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असाढपूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षाबासको उद्घाटन लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा गर्नुभएको हो ।

राजकीय बौद्ध विहार लुम्बिनीमा लुम्बिनी बौद्ध महिला समितिको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी होटल सङ्घको सहकार्यमा यस वर्षको वर्षाबास कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा पूर्वमुख्यमन्त्री चौधरीले लुम्बिनीलाई विश्वशान्तिको मुहानका रूपमा स्थापित गर्न यस्ता धार्मिक अनुष्ठान प्रभावकारी भएको भन्दै बौद्ध परम्पराको संरक्षण, प्रवद्र्धन र लुम्बिनी क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाउनुभयो ।

राजकीय बुद्ध विहारका प्रमुख एवं बौद्ध भिक्षु सागर धम्मले वर्षाबास परम्पराको ऐतिहासिक महत्त्व, ध्यान र साधनाका अवसरका रूपमा यसको भूमिका र लुम्बिनीजस्तो पवित्रस्थलमा यसलाई निरन्तरता दिनु गौरवको विषय भएको बताउनुभयो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान, बौद्ध सङ्घसंस्थाका प्रतिनिधिहरू, भिक्षु–भिक्षुणी तथा देश–विदेशका श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो । वर्षाबास बौद्ध भिक्षु–भिक्षुणीहरूले वर्षायामका तीन महिनासम्म एउटै विहार (गुम्बा) मा बसेर ध्यान, अध्ययन तथा बौद्ध चिन्तन–मनन गर्ने परम्परागत अभ्यास हो । भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ विनयमध्ये वर्षाबास पनि एक हो ।

रासस

  • प्रकाशन मिति : २०८२ असार ३२ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य