पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

२०८२ असाढ १८ , बुधवार

मुस्ताङ ः बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।

“हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ”, उहाँले भन्नुभयो ।

समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिनुभयो ।

“अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्”, उहाँले भन्नुभयो ।

जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा–जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केहीदिनमा स्थगित गर्ने जनाएको बताउनुभयो ।

बर्खायाम सुरु हवाईमार्ग मात्रै होइन सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ १८ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य