साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता
२०८२ असाढ १८ , बुधवार

काठमाडौँ (रासस)ः नेपाली राष्ट्रिय महिला फुटबल टिमले उज्वेकिस्तानको तासकान्दमा ऐतिहासिक जित हासिल गरेको छ । नेपाली टिमले आफ्नो १००औँ अन्तरराष्ट्रिय फुटबल प्रतिस्पर्धामा लाओसलाई शून्यका विरुद्ध नौ गोलको फराकिलो अन्तरले पराजित गरेर प्रतियोगितामा गर्विलो उपस्थिति जनाएको हो । नेपालले हिजोको खेलमा एकपक्षीय दबाब दिँदै खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । अन्तरराष्ट्रिय फुटबल महासङ्घ फिफाको विश्व वरियतामा नेपाल एक सयौँ तथा लाओस १०७औँ स्थानमा रहेका छन् । ‘एएफसी ओमन्स एसियाकप क्वालिफायर्स ग्रुप एफ’को पहिलो खेलमै नेपालले हासिल गरेको नतिजाबाट नेपाली महिला टिमले आफ्नो शक्ति प्रदर्शन गरेको छ ।
हिजोको खेलमा नेपाली टिमका लागि अनिता बस्नेतले खेलको १२औँ मिनेटमा सुरु गरेको गोल प्रहारको क्रम खेल समाप्तिको समयमा पनि निरन्तर जारी रहेको थियो । पहिलोपटक कप्तानका रुपमा जिम्मेवारी पाएकी सावित्रा भण्डारी ‘साम्बा’ले त हिजोको खेलमा गोलको वर्षा नै गरिन् । खेल सुरु भएदेखि नै आक्रामक रुपमा प्रस्तुत साम्बाले पूर्वाद्र्ध अवधिको निर्धारित खेल समाप्त हुनुभन्दा एक मिनेटअघि गोल थपेकी थिइन् । मध्यान्तरपछि खेल सुरु भएको दोस्रो मिनेटमा नै सरु लिम्बूले गोल गरेपछि नेपालले लगातार छ गोल गरेको थियो । यस क्रममा साम्बाले कुल चार गोल गरेकी छिन्भने उनले प्रहार गरेको एक बल लाओसकी खेलाडीको खुट्टामा लागेर आत्मघाती गोलमा परिणत भएको थियो । नेपालका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले पनि गोल थपेर नेपाली टिमलाई उत्कृष्ट नतिजा दिलाएका थिए । रासस
प्रकाशन मिति : २०८२ असाढ १८ , बुधवार