सप्तरीका सयौं हेक्टर खेतहरू अझै सुक्खै
२०८२ असार ३२ , बुधवार
साउन लाग्दै गर्दा पनि सप्तरीका सयौं हेक्टर खेतहरू अझै सुक्खै छन् । धानको बीउ तयार भए पनि खेतमा पानी छैन । किसान मूकदर्शक बनेर आकाशतिर हेरिरहेका छन् । बर्खाको भरमा जिउधन लगाउने कृषकहरू यस वर्ष वर्षा नआएपछि र सरकारी सहयोग नपाएपछि निराश छन् । तर, स्थानीय जनप्रतिनिधि भने आश्वासनको खोल ओढेर चुप छन् ।
सप्तकोशी नगरपालिका–१० का किसान ललित यादव भन्छन्, “पाँच कट्ठा खेत तयार छ, बीउ उम्रिसक्यो । तर पानी छैन । नहर बिग्रेको छ, नगरपालिका चुप छ । खेतमा होइन, मनमा भिजेको आँसुको पानी मात्रै छ अहिले ।” यस वर्ष असारभर राम्ररी वर्षा नहुनु र वैकल्पिक सिँचाइ योजनाहरू निष्क्रिय रहनु समस्या बन्यो । अधिकांश ठाउँमा सिंचाइका नहरहरू क्षतिग्रस्त छन्, पम्पसेट छैनन्, कुलोमा झार मात्र उब्जिएको छ । किसानहरू पालैपालो वडाध्यक्ष, प्रमुख र सांसदसम्मको ढोका ढकढक्याउँछन्, तर सुनुवाइ छैन । धेरै पैसा योजनामा, तर पानी छैन खेतमा सप्तकोशी नगरपालिकाले यो वर्ष करोडौं रुपैयाँ विकास योजनामा विनियोजन ग¥यो । पर्खाल, गेट, मोटरेबल सडक र रंगीन बोर्डहरूमा बजेट खर्च भइरहेछ । तर खेतमा पानी पु¥याउने कुनै कार्यक्रम देखिन्न । सप्तकोशी–११ को कृषक सुरेश मण्डल भन्छ्न, “धान रोप्न नपाएर बीउ सुक्न लागिसक्यो । हामी किसानलाई यो भन्दा ठूला यातना केही हुँदैन । योजनाको फोटो फेसबुकमा देखिन्छ, तर खेतमा पानी छैन ।” नगरपालिकाले ‘कृषिमा आधुनिकीकरण’ भनेर बजेट राखे पनि त्यो देखावटी साबित भएको छ । सोलारपम्प, डिप बोरिङ वा कुलो मर्मतजस्ता जीवन्त योजना अझै फाइलमा अल्झिएका छन् । कृषिमा उपेक्षा, भाषणमा ‘किसान देशको मेरुदण्ड’ चुनावी भाषणमा किसानलाई देशको मेरुदण्ड भनिन्छ । तर जब खेत सुक्छ, किसानको आवाज सुनिँदैन । महंगीले छुनै नसक्ने रासायनिक मल, ढिलो हुने बीउ वितरण, अव्यवस्थित सिँचाइ प्रणाली र अनुत्तरदायी जनप्रतिनिधिको मिलेमतोमा किसानको भविष्य सुक्दै गएको छ । किसान रामदेव मण्डलको भनाइमा, “जब पानी आउँदैन, रोपाइँ रोकिन्छ । जब रोपाइँ रोकिन्छ, ऋण थिच्छ । अनि हामी रोउछौँ — सरकार सुनुँदैन ।” अब किसान आन्दोलनको तयारीमा पानी माग्दै किसानहरूले आन्दोलन गर्ने तयारीमा छन् । किसान राजु मण्डल भन्छन्, “सप्तकोशीमा गेट त बन्यो, तर खेत सुक्यो । अब पानीको व्यवस्था नभए नगरपालिका घेरिन्छ ।” अर्का एक किसान नेताको चेतावनी छ, “किसान रोएर होइन, बोलेर अधिकार लिन्छ । आन्दोलन नगरी पानी आउँदैन भन्ने अवस्था बनाइएको छ ।” नगर प्रमुखसँग प्रश्न गर्दा उहाँले भन्नुभयो — “कृषि अनुदानमार्फत सिँचाइ उपकरण ल्याउने सोच बनाउँदैछौँ । किसानहरूले धैर्य गर्नुहोस् ।” तर स्थानीय किसानहरू भन्छन्, “अहिले चाहिएको पानी हो, आश्वासनले रोपाइँ हुँदैन ।“ समाधान नदिने हो भने, किसान सडकमै आउँछन् कृषि विज्ञहरूको चेतावनी छ — यदि तत्काल वैकल्पिक सिँचाइको व्यवस्था नगरिए, उत्पादनमा व्यापक गिरावट आउँछ, जसको असर खाद्य सुरक्षादेखि स्थानीय अर्थतन्त्रसम्म पर्छ । तर, जनप्रतिनिधि र सरकार अझै मौन छन् । किसान खेततिर हेरिरहेका छन् — सरकार सडकमै बोल्ने दिनको प्रतीक्षामा । निष्कर्ष — किसान खेतमा छन्, पानी मागिरहेका छन् । जनप्रतिनिधि कार्यालयमा छन्, कार्यक्रम गर्दै छन् । आकाशबाट वर्षा नझरे पनि, सरकारको नीति र व्यवहारले अवश्य पानी बगाउन सकिन्छ । तर त्यसका लागि इच्छाशक्ति चाहिन्छ, जुन हाल देखिँदैन । सप्तकोशीको सुक्खा खेतहरूले प्रश्न उठाइरहेका छन् — “हामी मर्ने कि रोप्ने?” सप्तकोशीका खेतहरू बोलिरहेका छन् — “हामी सुक्यौं, अब हाम्रो आवाज सुन्ने बेला आयो!“ जनप्रतिनिधिहरू सुन्न तयार भए राम्रो, नत्र किसानहरूले अब चुप लाग्ने छैनन् । पानी किसानको अधिकार हो, दया होइन । कैलाश माझी, सप्तरी



