स्रोत नखुलेको नेपाली र भारतीय रकमसहित दुई जना नियन्त्रणमा
२०८२ असार ३२ , बुधवार
काठमाडाँै ः स्रोत नखुलेको २३ लाख २८ हजार ५०० नेपाली र दुई लाख १५ हजार ५० भारतीय मुद्रासहित सशस्त्र प्रहरीले यही असार २६ गते दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सर्लाहीको मलङ्गवा नगरपालिका–८ सीमा इलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सोही नगरपालिका–२ बस्ने ३६ वर्षीय इन्द्रजितप्रसाद साहलाई नियन्त्रणमा लिइएको हो । भारतरबाट बिआर ३० के ४००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलङ्गवा र भन्सार कार्यालयको संयुक्त टोली उक्त रकमसहित नियन्त्रणमा लिएको हो । त्यसैगरी, रौतहट जिल्लाको गौर नगरपालिका–२ सीमा इलाकाबाट नौ लाख २८ हजार ५०० नेपाली रुपैयाँ र दुई लाख १५ हजार ५० भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । सर्लाही जिल्लाको रामनगर गाउँपालिका–२ खयरवा बस्ने ३० वर्षका चन्दन पण्डितलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म गौरले नियन्त्रणमा लिएको हो । भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । रासस



