टेनिस खेलाडीको विदाइ
२०८२ असार ३२ , बुधवार
काठमाडौँ ः युवा तथा खेलकुद मन्त्रालयले मलेशियाको क्वालालम्पुरमा यही असार ३२ देखि आगामी साउन ३ गतेसम्म सञ्चालन हुने डेभिस् कप चौथो समूह टेनिस प्रतियोगितामा भाग लिन जाने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बिदाइ गरेको छ ।
सिहदरबारस्थित मन्त्रालयका आज आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागि हुन जाने खेलाडी, प्रशिक्षक र ब्यवस्थापक बिदाइ गर्नुभएको हो । प्रतियोगितामा भाग लिन खेलाडी प्रदिप खडका, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुषमान हजुर घले तथा प्रशिक्षक जितेन्द्र्र परियार र व्यवस्थापक जयजीव हाडा त्यसतर्फ जान लाग्नुभएको हो । प्रतियोगिताम कुवेत, कीर्गिस्तान, मलेसिया, प्यासिफिकवसन, कतार, इराक, फिलिपिन्स र नेपालबीच प्रतिस्पर्धा हुने छ । नेपाल टेनिस सङ्घ सीमित साधन श्रोतका वाबजुद पनि टेनिसको माध्यमबाट नेपाललाई चिनाउने कार्यमा प्रयासरत छ । सन् २०२२ सम्म नेपाल टेनिस सङ्घ अन्तरराष्ट्रिय टेनिस महासङ्घको सि क्लासको सदस्यता प्राप्त राष्ट्र थियो । नेपालले त्यसपछि इन्टरनेशनल टेनिस फेडरेशनको बि क्लासको सदस्यता प्राप्त गर्न सफल भयो । सन् २०२३ देखि मतदानको अधिकारसहित टेनिसको वल्र्ड कप मानिने पुरुष खेलाडीको लागि डेभिस कप र महिला खेलाडीको लागि विलिइ जेन किङ कप प्रतियोगितामा सहभागि हुन पाएको हो । सोही क्रममा सन २०२४ मा बहराइनमा भएको डेभिस कप प्रतियोगितामा सहभागि १५ देशसँग अपराजित हुँदै नेपाल समूह पाँचबाट समूह चारमा स्तरोन्ननी हुन सफल रह्यो । त्यो नेपालमा टेनिस खेलको लागि ऐतिहासिक सफलताको क्षण रहेको मन्त्रालयको भनाइ छ । रासस



